
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह ‘बी’अन्तर्गतको अन्तिम खेलमा नेपाललाई ७२ रनले हराउँदै स्कटल्यान्ड सुपर सिक्स प्रवेश गरेको छ। स्कटल्यान्डसँग पराजित हुँदा नेपालको विश्वकप सम्भावना भने सकिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो। स्कटल्यान्डले दिएको १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल१३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्रै बनाएको हो।
नेपालका लागि विन्दु रावलले सर्वाधिक १४ रन बनाइन्। रुबिना क्षेत्रीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान इन्दु बर्मा ५ रन बनाउँदै रिटायर हर्ट भइन्। स्कटल्यान्डका लागि अब्थाहा मक्सुदले सर्वाधिक ३ विकेट लिइन्। काथेरिन फरासर र कार्थिका बार्सीले २–२ विकेट लिए। राचेल साल्टर र ओलिभिया वेलले १–१ विकेट लिए।
त्यसअघि,ब्याटिङ गरेको स्कटल्यान्डको लागि प्रियान्ज चतर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।
स्कटल्यान्डका ओपनरद्वय काथेरिन फार्सर गोल्डेन डक भइन्। उनलाई मनिषा उपाध्यायले बोल्ड पारिन्। पहिलो ओभरमा ३ बल वाइड फालेपछि उनले आधिकारिक पहिलो बलमा विकेट लिएकी थिइन्। अर्की ओपनर डार्सी कार्टर १ रनमा क्याच भइन्। कप्तान कार्थिन बार्सी ८ रनमा मनिषा उपाध्यायको बलमा एलबीडब्ल्यू भइन्।
पावरप्लेमा स्कटल्यान्डले ३ विकेटको क्षतिमा ३८ रन बनाएको थियो। चौथो विकेट सीता राना मगरले सारा बार्सीलाई १८ रनमा बोल्ड गरिन्। एल्सा लिसर क्याच आउट भइन्। मेगन एमसीकोले १७ र रचेल सल्तारले ११ रन बनाइन्। अन्तिा विकेटको रुपमा ओलिभिया वेल गोल्डेन डक भइन्।
नेपालको लागि बलिङतर्फ मनिषा उपाध्यायले राम्रो सुरुवात दिलाइन्। उनले पावरप्लेमा नै ३ विकेट लिइन्। मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ३ विकेट लिँदा रिया शर्मा, सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट, नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो। स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्ससाग ७ रनले पराजित भएको थियो। दोस्रो खेलमा जिम्बावेलाई ५ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो।
यो सँगै समुह बी बाट सुपर सिक्स खेल्ने टोलीको टुंगो लागेको हो। नेदरल्यान्ड्स, स्कटल्यान्ड र थाइल्यान्डले सुपर सिक्स खेल्नेछन् ।