टी–२० विश्वकप वार्मअपमा युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौं। आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको अविजित शतकीय साझेदारीको मद्दतमा नेपालले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा युएईमाथि सानदार जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै ३ विकेट गुमाउँदै १४८ रन बनायो। आरिफ शेखले सर्वाधिक ६१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ५० रन जोडे। यी दुई चौथो विकेटका लागि १०३ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाउन सफल भए।

नेपालका कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट हुँदा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८–८ रनको योगदान दिए। युएईका मुहम्मद रोहिदले एक विकेट लिए।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। युएईका सोहेब खान अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्माले २५, मुहम्मद जोहैबले १९ तथा अलिशान सराफुले १२ रन बनाए।

नेपालका तर्फबाट करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।


Published :माघ २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media