टी-२० विश्वकपः जितको लक्ष्यसहित आज इटालीसँग भिड्दै नेपाल

काठमाडौँ । नेपालले आईसीसी टीट्वेन्टी विश्वकप २०२६ अन्तर्गत दोस्रो खेल इटालीसँग बिहीबार खेल्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटालीका लागि नेपाल बलियो प्रतिस्पर्धी हो । नेपालले पहिलो खेल इङ्ल्यान्डसँगको अनुभव लिएर इटालीसँग मैदानमा निस्कँदैछ । यूएईलाई वार्मअप खेलमा १ सय १२ रनको बलियो जित निकालेपछि इटाली बलियो आत्मविश्वाससहित नेपालसँग खेल्ने तयारीमा छ ।

इङ्ल्यान्डसँगको खेलपछि नेपाली खेलाडीको मानसिकता निकै बलियो रहेको छ । इटालीसँगको खेलमा जितका लागि आफूहरू तयार रहेको नेपाली खेलाडी बताउँछन् । नेपालका लागि यो विश्वकपमा ५ जना खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् ।

हामी इटालीसँगको खेलको लागि तयार छौं । हामी उनीहरूलाई सहज प्रतिद्वन्द्वीको रूपमा भने हेर्ने छैनौं ।’ नेपाली टिम सुपर ८ को लक्ष्य राखेर यो विश्वकप खेलिरहेको उनले बताए । ‘सुपर ८ नपुग्दासम्म हाम्रा लागि हरेक खेल महत्वपूर्ण हुन्छन,’ शेखले भने, ‘इङ्ल्यान्डसँगको खेल जितेको भए हाम्रो लािग सुपर ८ को सम्भावना अझ बलियो हुने थियो ।’

सन् २०१८ मा नेपालको लागि टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आरिफले पहिलोपटक विश्वकप खेल्दै छन् । उनले आफ्नो पहिलो विश्वकपको अनुभव साट्दै भने, ‘मेरो र मेरो परिवारका लागि यो निकै गर्वको क्षण हो । म विश्वकपमा पहिलोपटक मेरो देशको प्रतिनिधित्व गरिरहेको छु । मेरो देश र टिमका लागि चाहिएको अवस्थामा जतिबेला पनि आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु ।’

पहिलोपटक विश्वकप खेलेका आरिफका भाइ आसिफ शेख भने दोस्रो विश्वकप खेल्दै छन् । पहिलोपटक सन् २०२४ को विश्वकप खेलेका आसिफले इटालीसँगको खेलमा टिमको मानसिकता जित्ने नै रहेको बताए । उनले भने, ‘इङ्ल्यान्डसँगको खेलपछि हामीले यो स्तरको खेल खेल्न तयार र लायक छौं भन्ने अनुभव भयो ।’ इङ्ल्यान्डसँगको खेलपछि नेपालले जुनसुकै देशलाई पनि हराउन सक्छ भन्ने आत्मविश्वास नेपाली टिममा आएको आसिफले बताए । ‘हामीले इङ्ल्यान्डसँगको खेलपछि राम्रो क्रिकेट खेल्यौं भने हामीले जस्तोसुकै राष्ट्रलाई पनि हराउन सक्छौं भन्ने अनुभव भयो,’ उनले भने ।

इटालीलाई नेपाली टिमले सहज प्रतिस्पर्धीको रूपमा नलिएको उनले बताए । ‘इटाली राम्रो टिम हो । पछिल्लो समय उनीहरूले राम्रो क्रिकेट खेलिरहेका छन्,’ उनले भने, ‘उनीहरूसँगको खेल सहज भने हुने छैन । हामी हाम्रो ट्रेनिङ सेसनमा गरेको तयारीमा विश्वास राख्छौं । हामी प्रतियोगिताभरि नै हरेक टिमलाई कडा प्रतिस्पर्धा दिने तयारीमा रहेका छौं ।’

नेपाली खेलाडीहरू खेलसँगै मानसिक रूपमा पनि तयार छन् । पहिलो खेलमा इङ्ल्यान्डसँगको झिनो हारपछि कप्तान रोहितकुमार पौडेल केही अनफिल्ड र अफफिल्ड निर्णय र रणनीतिको परिवर्तनको अपेक्षा गर्छन् । उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘केही मैदानभित्रको निर्णयहरू समयमा नै लिन सकेको खण्डमा टिमका लागि राम्रो हुनेथियो ।’ उनले रणनीतिक पक्षमा कुरा गर्दै भने । विश्वकप जस्तो ठूलो स्तरमा खेलिरहँदा मैदानभित्रको दबाब सम्हाल्न सक्नुपर्ने उनले बताए ।

‘विश्वकप खेल्दा दबाब हुन्छ । जसले दबाब झेल्न सक्छ त्यही टिमले जित्ने हो,’ पौडेलले भने, ‘हामीले विश्वकपमा पहिलो खेल नै विश्वको एक उत्कृष्ट टिमसँग खेलिसकेका छौं । त्यसका कारण हामीले इटालीसँगको खेल खेल उच्च मनोबल र आत्मविश्वासका साथ खेल्ने छांै ।’

नेपालले सम्पूर्ण खेल वाङ्खेडे मैदानमा नै खेल्दैछ । यो नेपालको लागि मैदान र पिचको जानकारीको हिसाबले निकै महत्वपूर्ण हुनेछ । नेपालका कप्तान रोहित भन्छन्, ‘समूह चरणको सम्पूर्ण खेलहरू वाङ्खेडेमा नै खेल्न पाउनु हाम्रो लागि पिच र मैदानको हिसाबले निकै
महत्वपूर्ण हुन्छ ।’

इटालीसँगको खेल अगाडि कप्तान रोहित भन्छन्, ‘इटालीलाई सहज टिमको रूपमा लिएका छैनौं । यो स्तरको खेलमा कुनै पनि टिमसँग खेल्नु सहज हुने छैन । उनीहरूले पछिल्लो केही समययता राम्रो क्रिकेट खेलिरहेका छन् । हामीले केही रणनीतिहरू बनाएका छन् । अब त्यो रणनीतिलाई मैदानमा देखाउने समय आएको छ ।’

कप्तान रोहितसँगै एकै टिमबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका शेर मल्लले विश्वकपको पहिलो खेलबाट नेपालको लागि डेब्यु गरे । उनले नेपालको लागि डेब्यु बलमा नै फिल साल्टको विकेट लिँदै सनसनीपूर्ण डेब्यु गरेका थिए । उनले भने, ‘पहिलो खेलपछि नेपाली टिमको मानसिकता र आत्मविश्वास निकै उच्च रहेको छ । हामी गर्न सक्छौं भन्ने विश्वास जागेको छ । इटालीसँगको खेलमा हामी पहिलो खेलमा जस्तो क्रिकेट खेलेका थियौं त्यस्तै क्रिकेट खेल्नेछौं ।’


Published :माघ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media