उपत्यकाआसपास १० हजार सुँगुर-बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल सुँगुर–बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुँगुर, बंगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो ।

घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइन फिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

पशुको शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने गर्छन् । यसबाट पशुको मृत्युदर उच्च हुने भए पनि पशुबाट मानिसमा भने नसर्ने मन्त्रालय अन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितले बताए ।

उनका अनुसार केन्द्रले संक्रमण फैलिन नदिन किसानलाई आवश्यक सतर्कता अपनाउन सन्देशमूलक सूचना प्रवाह गरेको छ । यस्ता लक्षण भएका सुँगुर, बंगुर तथा त्यसका पाठापाठी वा अन्य पशुको सम्पर्कमा आएमा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने क्रममा सजिलै संक्रमण फैलिने जोखिम भएकाले उच्च सर्तकता अपनाउन उनले आग्रह गरे ।

तीन वर्षअघि नेपालमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण फेला परेको केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा १० हजारभन्दा बढी सुँगुर तथा बंगुरमा संक्रमण फैलिएको जनाइएको छ ।


Published :माघ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media