
काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन् ।
प्रहरीकाअनुसार राति करिब ९ः१५ बजे काठको गोदाम तथा सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो । आगो तीव्र रूपमा फैलिँदा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो पार्ट्स, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा ठूलो क्षति पुगेको छ ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी संयुक्त रूपमा परिचालन भएका थिए । ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कीको प्रयोग गरी करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।