टी-२० विश्वकपः वेस्ट इन्डिजलाई नौ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८२

काठमाडौँ ।आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।  बिहीबार अमदावादमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो। यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ।

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो।  दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए। मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि अर्का ओपनर क्वान्टन डि कक २४ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए । टस जितेको दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको सुरुवात राम्रो हुन सकेन । चौथो ओभरमा महत्वपूर्ण चार विकेट गुमाएको वेस्ट इन्डिज १०.२ ओभरमा ७ विकेट गुमाएर ८३ रनमा थियो।

त्यसपछि वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे। जसका कारण उसले ८ विकेटको क्षतिमा १७६ रन बनायो। होल्डरले ३१ बलमा ४९ रन र शेफर्डले ३७ बलमा नटआउट ५२ रन बनाए। होल्डरले ४ चौका र ३ छक्का तथा होल्डरले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।  बलिङमा दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिँदा कागिसो रबडा र कोर्विन बोचले २-२ विकेट लिए। एनगिडी र रबडा दुवैले चार ओभरभित्रै २-२ विकेट लिएका थिए।


Published :फाल्गुन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media