एमाले अध्यक्ष ओलीले भने- फागुन २१ मेरा लागि कहिल्यै नबिर्सने दिन हो

राष्ट्रपाटी न्युज

फाल्गुन २१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ लाई आफ्नो जीवनको ‘कहिल्यै नबिर्सने दिन’ बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस दिनसँग जोडिएका दुई महत्वपूर्ण संयोग स्मरण गरेका हुन्।

ओलीले लेखेका छन् आज सुखानी शहीद दिवस पनि हो र आजकै दिन ६ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन आफू मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिनका रूपमा स्मरणीय रहेको उनले उल्लेख गरेका छन्।

उनले झापा आन्दोलनलाई निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको ऐतिहासिक आन्दोलनका रूपमा स्मरण गरेका छन्। सोही क्रममा आफूहरूलाई जेल हालिएको र आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उनले बताएका छन्।

ओलीले आफू पनि जेल सार्ने नाममा हत्या गरिन लाग्दा मृत्युको मुखबाट फर्किएको उल्लेख गर्दै १४ वर्ष कठोर कारावास भोगेको स्मरण गरेका छन्। उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनका अनुसार फागुन २१ आफ्नो जीवनका संघर्ष, पीडा र पुनर्जन्मसँग जोडिएको विशेष दिन हो ।


Published :फाल्गुन २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media