कपिलवस्तुमा साम्प्रदायिक विवादपछि प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

राष्ट्रपाटी न्युज

चैत्र ७, २०८२

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर उत्पन्न विवादपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो ।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो । भजनको आवाज कम गर्न गरिएको आग्रह बेवास्ता भएपछि तनाव चर्किएको जनाइएको छ ।

विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए ।
घटनामा सुरक्षाकर्मी र सर्वसाधारण गरी ८ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका २ र प्रदर्शनकारी ३ जना रहेका प्रहरीले जनाएको छ ।

यसैबीच प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ ।


Published :चैत्र ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media