लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार मार्ग पुनः सञ्चालन गर्ने भारतको घोषणा

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८२

काठमाडौं । नेपालको असहमतिका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत–चीनबीचको व्यापार मार्ग पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

भारतको पिथौरागढ जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट आशिष भटगानीका अनुसार उक्त मार्ग आगामी जुन १ देखि पुनः खुला गरिनेछ। करिब पाँच वर्षदेखि बन्द रहेको यो मार्ग पुनःसञ्चालन गर्न लागेको हो ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराभित्र पर्ने क्षेत्र हो, जुन नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै नक्सामा समेत समेटेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्गबाट व्यापार सञ्चालनका लागि अनुमति दिइसकेको छ। पीटीआईका अनुसार विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द वर्धनलाई पत्र लेख्दै व्यापार पुनःस्थापना प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

यसअघि पनि लिपुलेक हुँदै व्यापार सञ्चालनका विषयमा भारत र चीनबीच सम्झौता हुँदा नेपाललाई बेवास्ता गरिएको भन्दै नेपालले आपत्ति जनाएको थियो।


Published :चैत्र ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media