सुदूरलाई ५ विकेटले हराउँदै आर्मीले तेस्रोपटक जित्यो पिएम कपको उपाधि

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८३

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै आर्मीले तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । आर्मीको जितमा इमरान शेख र बसिर अहमदले महत्त्वपूर्ण पालि खेले । ५६ रनको स्थितिमा चार विकेट गुमाएको आर्मीको इनिङ सम्हाल्दै इमरान र बसिरले टोलीलाई जित दिलाएका हुन्। इमरानले अविजित ४६ र बसिरले ४५ रन बनाए । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले सर्वाधिक ४३ रन जोडे। किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाउँदा अरू ब्याटर चलेनन् ।

सुदूरपश्चिमले ३१ रनको स्थितिमा पाँच विकेट गुमाएको थियो । सुरुवाती पाँच ब्याटरले दोहोरो अंकमा रन जोड्न नक्सदा महत्वपूर्ण उपाधि भिडन्तमा सुदूर निरिह बन्न पुग्यो। कप्तान शेर मल्ल एक रनमै आउट भए । सुदूरपश्चिमलाई सस्तैमा समेटने क्रममा आर्मीका आकाश चन्द र साहब आलमले तीन/तीन विकेट लिए। बसिर अहमदले दुई विकेट हात पार्दा कुशल मल्लले एक विकेट लिए । आर्मीले यसअघि पहिलो र चौथो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणको फाइनलमा वर्षा बाधक हुँदा आर्मी र पुलिस संयुक्त विजेता बनेका थिए ।


Published :बैशाख ४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media