युएईविरुद्धको पहिलो खेलमा नेपाल पराजित

राष्ट्रपाटी न्युज

बैशाख ८, २०८३

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा सोमबार सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । जवाफमा युएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए । त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए । अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए ।

यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे । नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो । यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ । आज नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ ।


Published :बैशाख ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media