
काठमाडौं । काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।
लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियान अन्तर्गत प्रशासनले यो कदम चालेको हो । बस्तीमा डोजर पुगेपछि सुकुम्वासीहरुले बिहानै सामानहरु हटाएका थिए । प्रशासनले कानून बमोजिम सरकारी जग्गा खाली गराउनुपर्ने अडान लिएको छ भने बस्तीवासीहरूले आफूहरूको उचित व्यवस्थापन नभई उठिबास लगाउन नहुने माग राख्दै आएका थिए ।
गत बुधबार साँझ प्रधानमन्त्री बालेन शाहले सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए । शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौं प्रशासन र काठमाडौं महानगरपालिकाले सुकुम्बासीलाई बस्ती छाड्न माइकिङ गर्दै ‘सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकासमेतको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र भित्र हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं आफैं हुने’ चेतावनी दिएको थियो।
सरकारको यो चेतावनीपछि शुक्रबार र आज बिहान पनि काठमाडौंका खोला किनारका केही बासिन्दाले बस्ती खाली गरेका छन् भने केहीले आफ्नो अधिकार हनन भएको भन्दै सरकार विरोधी नारा लगाएका छन्।
पाइप फुट्दा खानेपानी अवरुद्ध
यसैबीच थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुट्यो ।
सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले फुटेको खानेपानी पाइप मर्मतका लागि तीन ठाउँमा बालाजु, माइतीघर र एकान्तकुरामा ‘भल्भ’ बन्द गर्न लागिएको जानकारी दिए ।




