
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) को छैटौं अधिवेशन आयोजना हुने भएको छ। यही बैशाख २८ गते सोमबार चाबहिलमा रहेको K.L Tower स्थित Imperial Banquet मा दिउसो १ बजेबाट अधिवेसन आयोजना गर्न लागिएको बताइएको छ।
यसैबीच उक्त अधिवेशन नजिकिँदै गर्दा नेतृत्वको चर्चा समेत चुलिन थालेको छ। संगठनका महासचिव सुदिप काफ्लेले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
काफ्लेले निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) को सह-कोषाध्यक्ष, कोषाध्यक्ष हुँदै महासचिव सम्मको जिम्मेवारी निर्वाह गरेका छन्। स्याङ्जाको वालिङ-२ मा जन्मिएका उनले शंकरदेव क्याम्पसबाट मास्टर्स डिग्रीसम्मको अध्ययन पूरा गरेका छन् । शिक्षा क्षेत्रमा विगत २० वर्षदेखि निरन्तर खटिएका उनीसँग विद्यालय प्रशासन र शैक्षिक नेतृत्वको लामो अनुभव छ ।
उनको सक्रियता विद्यालयमा मात्र सीमित छैन । लायन्स डिष्ट्रिक्ट ३२५ E अन्तर्गत Lions Club of Kathmandu Founders को President बनेर उनले सामाजिक सेवामा पनि आफ्नो नेतृत्व क्षमता देखाइसकेका छन् । त्यस्तै,हाल एन-प्याब्सन बुढानीलकण्ठको अध्यक्ष र बुढानीलकण्ठ नगरपालिकाको शिक्षा समिति सदस्यको रूपमा उनले खेलेको भूमिकाले पनि उनको दाबेदारीलाई झनै बलियो बनाएको छ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (PABSOK) लाई नयाँ उचाइमा पुऱ्याउन, संगठन विस्तार र बृहत शैक्षिक एकता सहितका एजेन्डा र संकल्पका साथ नेतृत्व लिन अगाडी बढेको काफ्लेले जानकारी दिएका छन्।
