
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको विष्णुपुर गाउँपालिकामा धान प्रशोधन उद्योग स्थापनाका लागि प्राप्त सरकारी अनुदान दुरुपयोग गरी करिब ४९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित व्यक्ति र संस्थाका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका–१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, विष्णुपुरमा विष्णुपुर धान प्रशोधन उद्योग स्थापना गर्न आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ सशर्त अनुदान स्वीकृत भएको थियो।
अनुसन्धानका क्रममा विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसहितका प्रतिवादीहरूले आपसी मिलेमतोमा उपभोक्ता समिति गठन गरी फर्जी मूल्याङ्कन तयार गरेको, सार्वजनिक खरिद नियमावलीविपरीत लागत अनुमानभन्दा बढी रकमको सम्झौता गरेको तथा कानुनले तोकेको प्रक्रिया पालना नगरी अनुदान रकम भुक्तानी गरेको अख्तियारको आरोप छ।
आयोगका अनुसार ५०/५० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुनुपर्ने योजनामा सहकारी संस्थाबाट व्यहोर्नुपर्ने लागत सुनिश्चित नगरिकन गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त अनुदानमध्ये रु. ४९ लाख २० हजार ९०३ उपभोक्ता समितिलाई भुक्तानी गरेको थियो।
अनुसन्धानबाट उक्त योजना हालसम्म अपूर्ण, जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको तथा निर्माण गरिएको संरचना कुनै पनि प्रयोजनका लागि उपयोग गर्न नसकिने अवस्था रहेको पाइएको अख्तियारले जनाएको छ।
नेपाल सरकारको सम्पत्तिमा हानि–नोक्सानी पुर्याई सरकारी अनुदान दुरुपयोग गरेको निष्कर्षसहित आयोगले प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत, साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा उपभोक्ता समितिसँग सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित भ्रष्टाचारसम्बन्धी कानुनअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।