बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८३

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

प्रहरी प्रधानकार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ ।

च्यादुक होटेलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।


Published :बैशाख ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media