ट्रम्प र सीबीच भेटवार्ता हुँदै, के छन् एजेण्डा ?

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित उच्चस्तरीय भेटवार्ता हुँदैछ । विश्वका दुई शक्तिशाली राष्ट्रका नेताबीच हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय राजनीति, व्यापार र सुरक्षा रणनीतिको दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।
बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा हुने भेटवार्ता विशेषगरी अमेरिका–चीन सम्बन्ध चिसिँदै गएको अवस्थामा हुन लागेको हो । ट्रम्प दोस्रो कार्यकाल सम्हालेपछि पहिलोपटक चीन पुगेका हुन् । यसअघि उनले सन् २०१७ मा चीन भ्रमण गरेका थिए ।
अमेरिका र चीनबीचको व्यापारिक तनाव वार्ताको मुख्य विषय बन्ने अपेक्षा गरिएको छ । ट्रम्प प्रशासनले चिनियाँ वस्तुमाथि कर बढाउँदै आएको छ भने चीनले पनि जवाफी रणनीति अपनाइरहेको छ ।
अमेरिकाले व्यापार सन्तुलन सुधार गर्न नयाँ व्यापारिक संरचना प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ। गत वर्ष दक्षिण कोरियाको बुसानमा भएको छलफलपछि केही भन्सार शुल्क घटाइएको थियो, जसलाई ट्रम्पले सफल उपलब्धिका रूपमा व्याख्या गरेका थिए ।
ताइवानको विषय पनि वार्ताको संवेदनशील एजेन्डा बन्ने देखिएको छ । अमेरिका ताइवानलाई सैन्य सहयोग र हतियार बिक्री गरिरहेको छ भने चीनले त्यसको लगातार विरोध गर्दै आएको छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग दाबी गर्दै आएको छ। ट्रम्पले सी चिनफिङसँग ताइवान सम्बन्धी अमेरिकी हतियार प्याकेजबारे छलफल हुन सक्ने संकेत गरेका छन् ।
दुवै देशबीच प्रविधि र दुर्लभ खनिज स्रोतलाई लिएर प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । विद्युतीय गाडी, चिप्स र रक्षा उद्योगका लागि आवश्यक ‘रेयर अर्थ मिनरल्स’ मा चीनको विश्वव्यापी प्रभाव अत्यधिक छ।
अमेरिकाले चीनमाथिको निर्भरता घटाउने रणनीति अघि बढाइरहेको छ भने चीनले उच्च प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगाइएका अमेरिकी प्रतिबन्ध खुकुलो बनाउन दबाब दिने सम्भावना छ ।


Published :बैशाख ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media