बुढानीलकण्ठ नगरपालिकाले आयोजना गर्यो SEE सम्मान तथा समीक्षा कार्यक्रम

राष्ट्रपाटी न्युज

जेष्ठ १३, २०८३

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) २०८२ को सम्मान तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाभित्रको शैक्षिक गुणस्तरको समीक्षा गर्ने र उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरको शैक्षिक विकासका लागि स्थानीय सरकार निरन्तर प्रतिवद्ध रहेको र विद्यार्थीहरूको सफलताले नगरकै गौरव बढाएको उल्लेख गरेका थिए।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित उप-प्रमुख अनिता लामाले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना दिँदै व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएकि थीइन ।

कार्यक्रममा नगर प्रवक्ता नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा कार्यपालिका सदस्य शान्ता ढकाल (पुडासैनी) को समेत विशेष उपस्थिति रहेको थियो।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले परीक्षाको नतिजा र महाशाखाले चालेका कदमहरूका बारेमा समीक्षात्मक प्रस्तुति राखेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। उक्त अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा अभिभावकहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता प्रोत्साहनमूलक कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने आशा व्यक्त गरेका छन।


Published :जेष्ठ १३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media