
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सरकारले शुक्रबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सार्वजनिक गर्ने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई तोकिएको दिन अपराह्न ३:४५ बजेसम्म संयुक्त बैठकमा उपस्थित हुन जानकारी गराएका छन् ।
विसं २०७२ मा संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्ने दिन तय गरिएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।
यसपटक सरकारले करिब १८ खर्ब ९० अर्बदेखि २० खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको विभिन्न स्रोतहरूले जनाएका छन्। बजेटमा सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पूँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिइने अपेक्षा गरिएको छ।
सरकारी कर्मचारीको तलब वृद्धि, केही करका दरमा पुनरावलोकन, उद्योग–व्यवसायमैत्री नीति तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत बजेटमा समेटिन सक्ने चर्चा छ ।
विद्युतीय सवारी, सूचना प्रविधि, साना तथा मझौला उद्योग र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने संकेत सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत पनि गरेको थियो । यस दिनलाई गणतन्त्र दिवसका रूपमा समेत मनाइन्छ ।