
काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको छ । मन्त्रालयले सात पृष्ठीय ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
मन्त्रालयले राजदूत पदका लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकेको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा विभिन्न देशमा नेपालको राजदूत पदमा नियुक्तिका लागि दक्ष, अनुभवी र योग्य नेपाली नागरिकबाट आवेदन माग गरिएको उल्लेख गरिएको छ । नेपालको इतिहासमै पहिलोपटक राजदूत नियुक्तिका लागि खुला दरखास्त आह्वान गरिएको हो ।
परराष्ट्र मन्त्रालयले चीन, अमेरिका, भारतलगायत १३ देशका लागि राजदूत नियुक्ति गर्न आवेदन खुलाएको जनाएको छ ।
जारी कार्यविधिमा राजदूत पदका लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ । साथै नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
सरकारी सेवाबाट बर्खास्त भएका वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ । यस्तै, कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास अनुमति वा अध्यागमन सुविधा लिएको व्यक्तिलाई पनि अयोग्य मानिने जनाइएको छ ।
मन्त्रालयका अनुसार भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भएका व्यक्तिले आवेदन दिन पाउने छैनन् । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएका र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
आवेदकमा सम्बन्धित देश वा संस्थासँग जोडिएका विषयमा ज्ञान तथा अनुभव हुनुपर्ने, अंग्रेजी भाषामा राम्रो दखल हुनुपर्ने तथा सम्बन्धित देशको आधिकारिक भाषाको ज्ञान भए थप योग्य मानिने व्यवस्था गरिएको छ ।
यसैगरी, प्रस्तावित पदस्थापनास्थलसँग कुनै प्रकारको स्वार्थ बाझिने अवस्था हुन नहुने, अन्तर्राष्ट्रिय वा विदेशी सहयोगप्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।
उच्च नैतिक चरित्र, कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता तथा नेपाल सरकार वा अन्तर्राष्ट्रिय निकायको कालोसूचीमा नपरेको व्यक्ति मात्र आवेदनका लागि योग्य हुने मन्त्रालयले जनाएको छ ।
यदि कुनै विदेशी राज्यबाट तलब पाउने पदमा कार्यरत भएको भए त्यस्तो जिम्मेवारी त्यागेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । साथै कूटनीतिक सम्बन्ध तथा कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासबारे पर्याप्त ज्ञान भएको हुनुपर्ने उल्लेख गरिएको छ ।