बालेन देशका लागि घातक छन्ः हर्क साम्पाङ

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०८३

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको कडा आलोचना गर्दै उनलाई ‘देशका लागि घातक’ भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले प्रधानमन्त्री शाहको राष्ट्रियतासम्बन्धी दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै उक्त अभिव्यक्तिप्रति असहमति जनाए ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेन देशका लागि घातक छन्, यो बुझ्न आम मानिसलाई केही समय लाग्नेछ । तर जबसम्म मानिसहरूले यो कुरा बुझ्नेछन्, त्यतिबेलासम्म देश सकिसकेको हुनेछ ।’

प्रधानमन्त्रीको पक्षमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेहरूलाई लक्षित गर्दै उनले भविष्यमा आफूले उठाएको विषयको महत्व बुझिने दाबी पनि गरेका छन् ।

साम्पाङले अगाडि लेखेका छन्, ‘अहिले मलाई गाली गर्नेहरूलाई भविष्यमा ठूलो पछुतो हुनेछ ।’

प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल, नेताहरू तथा सार्वजनिक व्यक्तित्वहरूले समर्थन र विरोधका धारणा सार्वजनिक गरिरहे ।


Published :जेष्ठ १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media