
काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपाललाई सोमबार दिउँसो काठमाडौं महानगरपालिका–१०, बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार युवराज खत्रीले चेक अनादरसम्बन्धी मुद्दामा दिएको जाहेरीका आधारमा नेपालविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो। २०७६ सालमा भएको आर्थिक लेनदेनसँग सम्बन्धित विषयमा खत्रीले जाहेरी दिएका थिए। जाहेरीमा उल्लेख भएअनुसार नेपालले लिएको ऋण फिर्ता गर्न दिएको चेक नसाटिएपछि मुद्दा दायर गरिएको थियो।
यता फणिन्द्र नेपालले भने आफूले सम्बन्धित ऋण रकम यसअघि नै चुक्ता गरिसकेको दाबी गर्दै आफूविरुद्ध झूटो मुद्दा लगाइएको प्रतिक्रिया दिएका छन् । उनले युवराज खत्रीले आफूलाई मिटरब्याजको जालमा पारेर लामो समयदेखि दुःख दिँदै आएको आरोपसमेत लगाएका छन् ।
अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं जिल्ला अदालतले २०७९ जेठ २५ गते गरेको फैसला कार्यान्वयनका लागि नेपाललाई पक्राउ गरिएको हो। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।