
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले ऐतिहासिक सफलता हात पारेको छ। खेलको इन्जुरी समयमा सम्हालिएको प्रदर्शन गर्दै कतारले बलियो टोली स्वीट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको हो। विश्वकप इतिहासमा कतारले अङ्क जोडेको यो पहिलो पटक हो।
सान फ्रान्सिस्को वे एरियास्थित लेभिस स्टेडियममा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डले सुरुवाती अग्रता लिएको थियो। खेलको १७ औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्वीस टोलीलाई अगाडि बढाएका थिए। यसअघि १३ औँ मिनेटमा कतारका गोलकिपर महमुद अबुनादाले एम्बोलोलाई फउल गरेपछि स्वीट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। भिसा विवादका कारण ढिला गरी अमेरिका आइपुगेका २९ वर्षीय फरवार्ड एम्बोलोले पेनाल्टीलाई सहजै गोलमा परिणत गरेका थिए।
त्यसपछि खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि स्वीट्जरल्यान्डले थप गोलका अवसर सदुपयोग गर्न सकेन। जसको फाइदा उठाउँदै खेलको ९४ औँ मिनेटमा कतारका बुआलेम खोउखीले हेडमार्फत सङ्घर्षपूर्ण गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। गोल लगत्तै कतारी खेलाडीहरूले मैदानमै सुतेर र एकअर्कालाई अङ्गालो हालेर ऐतिहासिक उपलब्धि उत्सव मनाएका थिए।
स्पेनिस प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतार सन् २०२२ को विश्वकपमा आयोजकका रूपमा आफ्ना सबै खेल हार्ने पहिलो टोली बनेको थियो। यसपटक प्लेअफ पार गर्दै विश्वकपमा छनोट भएको कतारले दोस्रो सहभागितामै ऐतिहासिक अङ्क जोड्न सफल भएको छ।
यता, लगातार छैटौँ पटक विश्वकप खेलिरहेको स्वीट्जरल्यान्डले भने जित हात पार्ने सुनौलो अवसर गुमाएको छ। खेलको अन्तिम समयतिर कतारका अहमद अलाएल्डिनको प्रहारलाई स्वीस गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ नगरेको भए स्वीट्जरल्यान्डले हारसमेत बेहोर्नुपर्ने अवस्था थियो।