गणतान्त्रिक व्यवस्था अन्त्य हुने प्रसाईको चेतावनी

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८३

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुकको वर्तमान गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले वर्तमान राजनीतिक प्रणालीप्रति कडा टिप्पणी गरेका हुन् । उनले सहकारीसम्बन्धी समस्या, किसानका बक्यौता तथा स्वास्थ्य बीमा भुक्तानी जस्ता विषयलाई लिएर सरकारमाथि प्रश्न उठाउँदै ती समस्याको समाधान नगरे वर्तमान व्यवस्थाप्रति जनआक्रोश बढ्ने दाबी गरे ।

प्रसाईंले सहकारी ठगीको विषयमा जनताको कर प्रयोग हुने गरी रकम तिर्ने प्रयास भए वर्तमान सरकारको अवस्था कमजोर हुने र त्यसले व्यवस्थामै असर पार्न सक्ने टिप्पणी गर्नुभयो।

उनले वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यसअघि नेकपा (एमाले) विरुद्ध आफूले उठाएका विषयजस्तै ती दललाई पनि प्रश्नको कठघरामा ल्याइने दाबी गरे ।

उनका अनुसार मुलुकमा अब जनआन्दोलनको अवस्था सिर्जना हुन सक्ने र त्यसले विद्यमान शासन प्रणालीमै परिवर्तन ल्याउन सक्ने संकेत देखिएको छ।

उनले सरकारलाई किसानका समस्या, मलको अभाव, दूध किसानको बक्यौता तथा सामाजिक सुरक्षासम्बन्धी दायित्वप्रति गम्भीर नबनेको आरोप पनि लगाए ।

प्रसाईंले सहकारी क्षेत्र, स्वास्थ्य बीमा तथा कृषि क्षेत्रसँग सम्बन्धित भुक्तानी र नीतिगत व्यवस्थापनमा सरकार उदासीन रहेको दाबी गर्दै तत्काल समाधान गर्नुपर्ने माग राखे ।


Published :जेष्ठ ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media