बडीकेदार गाउँपालिका भ्रष्टाचारमा अध्यक्ष र उपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द र उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दामा सार्वजनिक सम्पत्ति हिनामिना तथा गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको आरोप लगाइएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गर्दा राजस्व संकलन नगरी रकम हिनामिना गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानका क्रममा नेपाल सरकारको मापदण्ड विपरीत कार्य गर्दै कुल १४ लाख १० हजार २४० रुपैयाँ बराबरको हिनामिना भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैसी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा, सब–इन्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा (धनगढी) का सञ्चालक पशुपति जैसी तथा अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमलाई पनि प्रतिवादी बनाइएको छ।

आयोगले उनीहरूविरुद्ध बिगो असुल, कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ।


Published :असार २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media