विश्वकपः बेल्जियम र इजिप्टले खेले बराबरी

काठमाडौं । सियाटलमा सोमबार राति सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक भिडन्त १–१ गोलको बराबरीमा सकिएको छ। जितको निकै नजिक पुगेको इजिप्ट अन्तिम समयमा दुर्भाग्यको सिकार बनेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका हुन् ।

खेलको १९औँ मिनेटमा इजिप्टका मिडफिल्डर इमाम आसुरले शानदार प्रदर्शन गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । कप्तान मोहम्मद सालाहको आकर्षक पासलाई सदुपयोग गर्दै उहाँले करिब २० यार्ड टाढाबाट प्रहार गरेको बल बेल्जियमका अनुभवी गोलरक्षक थिबाउट कोर्टुवालाई समेत झुक्याउँदै जाली चुमेको थियो । यो आसुरको अन्तर्राष्ट्रिय करियरकै पहिलो गोल बनेको छ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले सालाहलाई परम्परागत विंगको सट्टा केन्द्रीय भूमिकामा उतार्ने रणनीति उपनाउनु भएको थियो । कप्तानको ३४औँ जन्मदिनमा गरिएको यो परिवर्तन प्रभावकारी देखिएको थियो र इजिप्टले सुरुदेखि नै आत्मविश्वासपूर्ण खेल प्रस्तुत गरेको थियो ।

पहिलो हाफमा बेल्जियमले लगातार दबाब सिर्जना गरे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । उसको अधिकांश प्रहार लक्ष्यविहीन रहँदा इजिप्टका गोलरक्षक मोस्ताफा सोबिर अपेक्षाकृत सहज अवस्थामा देखिनुभयो । यता, इजिप्टले सीमित अवसरमा पनि खतरनाक आक्रमण बुन्दै बेल्जियमको रक्षापंक्तिलाई सतर्क बनाइराख्यो।

दोस्रो हाफमा बेल्जियमले आक्रामकता थप बढायो । ५५औँ मिनेटमा सालाहको शक्तिशाली हेडरलाई कोर्टुवाले उत्कृष्ट बचाउ गरे भने त्यसलगत्तै ओमार मार्मुसको प्रयास पनि लक्ष्यभन्दा केही बाहिरिएको थियो।

खेलको मोड भने ६६औँ मिनेटमा आयो। प्रशिक्षकले मैदानमा उतारेका स्ट्राइकर रोमेलु लुकाकुले प्रवेश गरेको केही सेकेन्डमै आफ्नो प्रभाव देखाउनुभयो । उहाँले दुई डिफेन्डरलाई छल्दै बनाएको अवसर रोक्ने क्रममा इजिप्टका रक्षक हानीबाट आत्मघाती गोल हुन पुगेपछि बेल्जियम बराबरीमा फर्किएको थियो।

७५औँ मिनेटमा सालाहलाई विश्राम दिइएको थियो। त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र खेल १–१ को बराबरीमा टुङ्गियो।

यस नतिजासँगै चौथो पटक विश्वकप खेलिरहेको इजिप्ट इतिहासमै पहिलो विश्वकप जित हासिल गर्ने अवसरबाट एक कदम टाढा रह्यो भने बेल्जियमले अन्तिम समयमा पुनरागमन गर्दै महत्वपूर्ण एक अंक जोगाउन सफल भयो।


Published :असार २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media