फिफा विश्वकपः दक्षिण अफ्रिका र चेक गणतन्त्रले खेले बराबरी

काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवाती समयमै पछि परेको दक्षिण अफ्रिकाले अन्तिम समयमा पेनाल्टीमार्फत गोल फर्काउँदै हार टारेको हो ।

यो बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा पहिलो अङ्क जोडेका छन् । आफ्नो पहिलो खेलमा पराजित भएका दुवै टोली अहिले समूह तालिकामा दक्षिण कोरिया र सह-आयोजक मेक्सिकोभन्दा २ अङ्कले पछि छन् ।

खेलको छैटौँ मिनेटमै मिखाल सादिलेकले गोल गर्दै चेक गणतन्त्रलाई सुरुवाती अग्रता दिलाएका थिए । एडम ह्लोजेकको क्रसलाई अलेक्जेन्डर सोज्काले मिलाइदिएपछि सादिलेकले उत्कृष्ट गोल गरेका थिए । त्यसअघि पहिलो मिनेटमै टोलीका मुख्य फरवार्ड प्याट्रिक सिकले गोल गर्ने सुनौलो अवसर गुमाएका थिए ।

पहिलो हाफमा दबाबमा परेको दक्षिण अफ्रिकाले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्‍यो । खेल सकिन सात मिनेट बाँकी छँदा चेक गणतन्त्रका पाभेल सुल्कले पेनाल्टी बक्सभित्र ह्यान्डबल गरेपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई टेबोहो मोकोइनाले सहजै गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । विश्वकपमा दक्षिण अफ्रिकाको यो १६ वर्षपछिको पहिलो गोल समेत हो ।


Published :असार ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media