भटाभट गोल हान्ने जिम्मा बालेनलाई दिइएको छः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनसम्बन्धी सहमति कार्यान्वयनमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनको जिम्मेवारी चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन शाहलाई दिइएको उल्लेख गरे ।

उनले भने, “सरकार सञ्चालन गर्ने जिम्मा बालेन शाहकै खुट्टामा बल पुर्‍याइसकिएको छ, अब भटाभट गोल हान्ने जिम्मा उहाँकै हो। झुक्किएर त्यो बल कहीँ आए पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हुनेछ।”
यसै अवसरमा सभापति लामिछानेले पार्टीभित्र गुट–उपगुटको अभ्यास गर्न नहुनेमा पनि जोड दिए । उनले रास्वपालाई कमजोर पार्ने शक्ति बाह्य नभएको दाबी गर्दै संगठनभित्रको एकता नै मुख्य आधार हुने स्पष्ट पारे ।

उनका अनुसार गुट–उपगुटले पार्टीलाई विषालु बनाउने र त्यसको परिणामस्वरूप संगठन नै कमजोर हुन सक्ने खतरा रहनेछ । उनले विगतका राजनीतिक दलका अनुभवबाट सिक्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।


Published :असार ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media