
काठमाडौँ । पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई जारी राख्दै दुई पटकको पूर्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीमा सोमबार बिहान सम्पन्न समूह ‘एच’ को खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
आफ्नो पहिलो खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको केप भर्डेले खेलको २१ औं मिनेटमै खेलमा अप्रत्याशित अग्रता लिएको थियो। केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक उरुग्वेको डिफेन्सिभ वालको बीचबाट छिर्दै गोलमा परिणत भएको थियो।
अग्रतापछि आक्रामक बनेको केप भर्डेको डिफेन्समा कमजोरी देखिन थाल्यो, जसको फाइदा उरुग्वेले उठायो। डिफेन्डर सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ क्लियर गर्न खोजेको बललाई म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले प्रहार गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा उरुग्वेको बलियो ‘प्रिन्टिङ गेम’ का सामु केप भर्डेलाई बल अघि बढाउन कठिन भइरहेको थियो। तर, उरुग्वेको डिफेन्समा भएको एउटा गम्भीर गल्तीको फाइदा उठाउँदै केप भर्डले खेलमा पुनरागमन गर्यो। उरुग्वेका म्याथियास ओलिभेराले आफ्नै पेनाल्टी बक्समा दिएको गलत पासलाई केप भर्डेका हेलियो वारेलाले खोस्दै गोलकिपरलाई छलाएर बललाई खाली पोस्टको दिशा दिए।