
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । उनलाई नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको खुलेको छ।
विभागसँग सम्बद्ध स्रोतका अनुसार केही कागजातसमेत नियन्त्रणमा लिइएको छ। पौडेलको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
एमालेको पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । कार्यक्रमस्थलबाटै पक्राउ गरिएका उनलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। त्यसका लागि हवाई वा स्थलमार्गमध्ये उपयुक्त विकल्पबारे निर्णय गरिने बताइएको छ।
एमालेले यतिबेला सबै प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमका क्रममा सुर्खेत पुगेका पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कारबाही अघि बढाएको हो।
एमालेभित्रका ‘माडे’ भन्ने आरोप लाग्दै आएका पौडेललाई नियन्त्रणमा लिएसँगै अनुसन्धानको दायरा विस्तार गरिएको स्रोतको दाबी छ। यद्यपि, विभागले यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
भैसेपाटीस्थित उनको घर एक ठेकेदारलाई पटकपटक ठूलाठूला ठेक्का दिलाइदिएवापत उपहार पाएको चर्चा पनि चल्ने गरेको छ ।