
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोध र अधिनायकवादी प्रवृत्तिको उदाहरण भएको जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा पार्टीको सांगठनिक कार्यक्रमका क्रममा सुर्खेतमा रहेका पौडेललाई सरकारले गैरकानुनी ढंगले ‘अपहरण शैलीमा’ पक्राउ गरेको दाबी गरिएको छ।
वक्तव्यमा एमालेले आफू सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलका नेतामाथि अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाएको छ। पार्टीले पौडेलमाथिको कारबाहीलाई एमालेविरुद्ध भइरहेको श्रृङ्खलाबद्ध राजनीतिक षड्यन्त्रको निरन्तरता भएको दाबी गरेको छ।
एमालेका अनुसार पौडेलले सुर्खेतको कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो। सामान्य कानुनी प्रक्रिया अपनाएर सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै नियतवश पक्राउ गरिएको पार्टीको भनाइ छ।
वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक स्टन्ट’ र राजनीतिक लाभका लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाइएको छ। एमालेले यस्तो कदमलाई सत्ताको उन्मादबाट प्रेरित अधिनायकवादी कार्य भन्दै यसको डटेर सामना गर्ने चेतावनी दिएको छ।
पार्टीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाएको छ। साथै विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ।
एमालेले सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।
