
काठमाडौँ । साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले स्तब्ध पार्दै फ्रान्स विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ ।
फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवाती समयमै फ्रान्सले अग्रता लिएको थियो । एमबाप्पेले देशका लागि १०० औँ खेल खेल्ने क्रममा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। एमबाप्पेले पहिलो गोल खेलको १४ मिनेटमा गरेका हुन् ।
पहिलो हाफ सकिएलत्तै मौसम खराब भएपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । मौसम सुधारिएर खेलको दोस्रो हाफ सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको आक्रमणलाई रोक्न सकेन । एमबाप्पेले व्यक्तिगत दोस्रो गोल खेलको ५४ मिनेटमा गरेका हुन् ।
त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल थपे । डेम्बेलेको कुनै पनि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो।
यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो । यो हारसँगै इराक समूह चरणबाट बाहिरिएको छ ।