विश्वकपः इङ्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरी

राष्ट्रपाटी न्युज

असार १०, २०८३

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ बुधबार राति भएको खेलमा इङ्ल्यान्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलभरि इङ्ल्यान्डले विपक्षीको पोस्टमा १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारे बाधक बने । घानाले भने खेल अवधिभर मात्र दुई पटक गोलको प्रयास गरेको थियो । इङ्ल्यान्डका निको ओ’रेलीले खेलको उत्तरार्धमा प्रहार गरेको हेड बल बारमा लागेर फर्किएपछि टोली जितबाट चुकेको थियो ।

पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको इङ्ल्यान्डको यो फितलो प्रदर्शनले टोलीको विश्वकप उपाधि यात्राको सम्भावना माथि पुनः प्रश्न उठाएको छ । खेल अवधिभर इङ्ल्यान्डको प्रदर्शन गत युरो २०२४ को कमजोर लय जस्तै देखिएको थियो ।

यो बराबरीका बावजुद दुवै टोलीको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना भने बलियो छ । समूह ‘एल’ मा दुवै टोलीको दुई खेलबाट समान ४–४ अंक भएको छ । इङ्ल्यान्डले अब शनिबार मेटलाइफ स्टेडियममा पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजित नभए इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ ।


Published :असार १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media