
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकामा पाँचौँ पटक संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रवासबाहेकको पहिलो चरणको मतदान सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका जारी गरेको हो।
पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना र परिणाम घोषणा प्रक्रिया जारी रहेकै अवस्थामा रास्वपाले पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार पदाधिकारी पदका लागि मतदान आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी राति १ः३० बजेसम्म पदाधिकारीहरूको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ।
महाधिवेशन लम्बिँदै गएपछि निर्वाचन तालिकामा पटक–पटक संशोधन गर्नुपरेको भए पनि नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको रास्वपाले जनाएको छ।
चितवनको भरतपुरमा जारी महाधिवेशनमा पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणबाट पार्टीका पदाधिकारीहरूको चयन गरिनेछ। निर्वाचन आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कार्यतालिकामा आवश्यक संशोधन गरिएको हो।