प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रपाटी न्युज

असार २४, २०८३

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन २०८१–०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ पेस गर्ने कार्यक्रम छ ।

यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, प्रस्तुत गर्ने र विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


Published :असार २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media