
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) को फार्मेसी अधिकृतसहित आज जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभइ बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङ्गमा करोडौँ औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
अख्तियारले निजामती कर्मचारी अस्पतालका फार्मेसी सेवा सञ्चालनमा संलग्न फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लवेन्द्र कुँवर, दिपक सापकोटा, स्टोर किपर विनोद पोखरेल, केशव राज न्यौपाने, शर्मीला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दिप तिवारीलाई प्रतिवादी बनाएको छ ।