
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही माथि रहे पनि आगामी दिनमा बिस्तारै नेपालतर्फ नजिकिने सम्भावना छ, जसका कारण वर्षा थप सक्रिय हुन सक्ने अनुमान गरिएको छ।
बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।
तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। साथै, देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा ती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने जनाइएको छ ।
त्यसैगरी, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।