देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने सरकारको नीति रहेको स्पष्ट गरे ।

प्रधानमन्त्रीसमक्ष सरोकारवाला संस्थाका प्रतिनिधिहरुले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री शाहसँगको संवादपछि आफूहरू उत्साहित भएको उल्लेख गर्दै उनीहरूले प्रारम्भिक सेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई रु ३० अर्ब पुर्याउने वातावरण मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गरे ।

त्यसैगरी, उनीहरुले बैंक तथा वित्तीय संस्थामार्फत ‘मार्जिन’ कारोबारसँग सम्बन्धित ‘ब्रोकर’ कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने खाँचो औँल्याए ।

बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कूल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाइ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनःसंरचना तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन पनि अनुरोध गरे ।

सो छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए  ।

नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाका सुझावलाई आत्मसात् गर्दै बोर्डले आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र २०८३ लागू गरिसकेको जानकारी दिए ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको अवगत गराए ।

नेप्सेको पुनःसंरचनाका लागि उपयुक्त ढाँचा तयार गरी अघि बढाइने उल्लेख गर्दै उनले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीतिअनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Published :साउन ४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media