प्रतिगामी र बाह्य शक्तिका कारण मुलुक गम्भीर संकटमाः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् ।

४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएकाले मुलुक गम्भीर संकटमा परेको बताएका हुन् । उनले प्रतिगामी वा बाह्य शक्तिहरूले देशलाई अस्थिर बनाउन खोजिरहेको थाहा पाएर पनि त्यसलाई समयमै रोक्न आवश्यक तयारी गर्न नसकिएको स्वीकार गरे ।

उनले सोसल मिडियाको नकारात्मक प्रभावबाट युवाहरूलाई मुक्त गराएर मात्र राष्ट्रिय स्वाधीनता र क्रान्तिका लागि फेरि आन्दोलित गराउन सकिने धारणा राखे । प्रचण्डले अहिले पनि प्रतिगामी, साम्राज्यवादी र तिनका स्थानीय एजेन्टहरूले प्रतिक्रान्ति पूरा गर्ने मिसन जारी राखेको दाबी गरे । उनले चीन र भारतबीचको नेपालको असंलग्न परराष्ट्र नीति र चीन विरोधी गतिविधि हुन नदिने परम्परागत अडान उल्लंघन गरिएको आरोप समेत लगाए ।

प्रचण्डले मुलुकमा थप संकट आउन नदिन तत्काल पार्टी एकताभन्दा पनि साझा न्यूनतम कार्यक्रमका आधारमा तत्काल कार्यएकता र सहकार्य आवश्यक रहेको बताए । उनले देशैभरिबाट लाखौं जनतालाई काठमाडौँ र जिल्ला सदरमुकामहरूमा उतारेर जनदबाब सिर्जना गर्ने तयारी गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारका बिषयमा प्रचण्डले पार्टीको मुख्य प्राथमिकता सरकारमा जानु नभई राष्ट्रिय स्वाधीनता, संविधान, र गणतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु रहेको बताए । तर प्रदेशका संवैधानिक संकटको अवस्था सिर्जना भए नेकपाले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।


Published :साउन ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media