
काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका प्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित १० जनाकै मृत्यु भएको छ ।
हिमपहिरोमा परेका १० आरोहीमध्ये चारजनाको शव शुक्रबार नै फेला परेको थियो भने बाँकी छ जना बेपत्ता भएका थिए । सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले शनिबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।
दुर्घटनामा म्याग्दीको दाना जन्मस्थान भएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जासहित छ नेपाली आरोहीको मृत्यु भएको छ । मृत्यु हुने अन्य नेपालीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।
त्यस्तै दुर्घटनामा पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि मृत्यु भएको पुष्टि भएको छ ।
ब्रोड पिकमा गएको हिमपहिरोले आरोहीहरूलाई ६ हजार मिटरभन्दा माथिको उचाइबाट करिब ८०० मिटर तलसम्म बगाएको बताइएको छ । खराब मौसमका कारण दुर्घटनापछि तत्काल उद्धार तथा खोजी कार्य सञ्चालन गर्न कठिनाइ भएको थियो ।
मृत्यु हुने नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ गोरखाका, किलीपेम्बा शेर्पा दोलखाका, ग्यालु शेर्पा ओखलढुङ्गाका तथा नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका रहेको जनाइएको छ ।