
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सात संसदीय समितिको बैठक बस्दै
यस्तै, आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे अर्थ समितिको बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका’ सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।