व्यवसायी गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न आदेश

राष्ट्रपाटी न्युज

साउन २६, २०८३

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो। धितोपत्रसम्बन्धी कसूर गरेको उनीमाथि आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो।

सरकारी अभियोगअनुसार हिमालयन रिइन्स्योरेन्सको तर्फबाट रु. २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा तथा व्यक्तिगत रूपमा रु. ५२ करोड ५० लाख ब्रोकर नम्बर ५५ मा पठाइएको थियो।

उक्त रकमबाट सह–प्रतिवादी दीपक भट्टलगायतका नाममा सेयर खरिद गरिएको सरकारी दाबी छ। अदालतले गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएसँगै अब मुद्दाको नियमित पुर्पक्ष प्रक्रिया अघि बढ्नेछ।


Published :साउन २६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media