दशौं राष्ट्रिय खेलकुद मंसिर १६-२९ गतेसम्म कर्णालीमा हुने

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो।

प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन। नयाँ मिति तय भएसँगै अब प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउनुपर्ने चुनौती आयोजकसामु छ।

मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै अब निर्धारित समयभित्र तयारी पूरा गर्दै दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्ने जिम्मेवारी आयोजक निकायमाथि आएको छ।

२०८१ मंसिरमा हुनुपर्ने यो खेलकुद प्रतियोगिता पाँचौं पटक सरेको हो। बारम्बार खेलकुद राजनीतिका कारण सरेको यो प्रतियोगिता २ वर्ष पछाडि धकेलिएको हो। २ वर्षमा यस खेलकुदका लागि २ वर्ष बजेट विनियोजन समेत भएको थियो। तर प्रतियोगिता भने हुन सकेको थिएन।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media