भोटेकोशी बाढीः ७३४ शव फेला, २६९२ जनाको उद्धार, २५ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसपछिको विपद्मा परेर बगेका व्यक्तिमध्ये हालसम्म ७ सय ३४ जनाको शव फेला परेको छ। घटनामा परेका २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।प्रभावित क्षेत्रमा प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। प्रहरीको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी र पहिरोका कारण बगेका व्यक्तिमध्ये विभिन्न जिल्लाबाट ७ सय ३४ शव बरामद गरिएको हो।

जिल्लागत रूपमा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २ सय ५९, गोरखामा ५८, तनहुँमा ३६, नवलपुर पूर्वमा १ सय ८४ र नवलपुर पश्चिममा ८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, विपद्मा परेर घाइते भएका २ हजार ६ सय ९२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवामा ६ सय ७६, नुवाकोटमा २ हजार २० र धादिङमा ३ जनालाई उद्धार गरिएको विवरणमा उल्लेख छ।

यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १ सय ६० पुगेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत व्यवस्थापनका लागि हाल ७ हजार २ सय ९३ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।


Published :भदौ १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media