भोटेकोशी बाढीः ७३५ शव फेला, चार हजार ४७२ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परी विदेशी पर्यटकसहित चार हजार ४७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले हालसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त सङ्ख्यामा नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना छन् । तीमध्ये तीन जनाको शव फेला परी पहिचान भइसकेको छ । त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठवटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठवटा जलविद्युत् आयोजनाका ९३३ जना कर्मचारी सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उनले बताए ।

प्रवक्ता काफ्लेका अनुसार रसुवाबाट ५६२, नुवाकोटबाट ११५, मकवानपुरबाट ६५ तथा सिन्धुपाल्चोकबाट २२५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । काठमाडौँ उपत्यकामा ४८१ तथा कोशी प्रदेशमा १३८ जना सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको उहाँले बताउनुभयो । बाढीमा परी सम्पर्कविहीन हुनेमा ७४५ जना आन्तरिक तथा विदेशी पर्यटकसमेत रहेको उनको भनाइ छ ।

प्रवक्ता काफ्लेले हालसम्म बाढी प्रभावित जिल्लामा ७३५ जनाको शव फेला परेको जानकारी दिए । पहिचान हुन नसकेका केही शवलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार विपद्पछि खोज, उद्धार तथा राहतका लागि नेपाल प्रहरीका सात हजार ८८९ जनशक्ति परिचालन गरिएको छ । गएराति तथा आइतबार बिहानसमेत बाढी आएपछि उद्धार कार्यमा केही समस्या भए पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइएको उनले बताए ।

आइतबार बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा करिब सात मिटर सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रवक्ता काफ्लेले जानकारी दिए । त्यस्तै, गल्छीमा बाढीले थप चारवटा घर बगाएको र आठवटा घर जोखिममा रहेको उनले बताए ।

हाल टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा पुरिएका घर तथा शवको खोजी भइरहेको छ । जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार प्रयाससमेत जारी रहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले बाढीका कारण सम्पर्कविहीन नागरिकको विवरण विभिन्न स्रोतबाट प्राप्त भइरहेको भन्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको बताए ।


Published :भदौ १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media