अयोध्याधाम निर्माणका लागि माडीमा १०० बिघा जग्गा छुट्याइयो

राष्ट्रपाटी न्युज

१४ आश्विन २०७७

चितवन- चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ ।

मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उहाँले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताउनुभयो । “प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ”, उहाँले भन्नुभयो । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताउनुभयो । अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उहाँको भनाइ छ ।

माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन् । अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो ।

माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिनुभएको थियो ।।


Published :१४ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media