रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्रीको राजीनामा माग

राष्ट्रपाटी न्युज

साउन १९, २०८३

काठमाडौं । सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका रबिन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त तथा पीडित पक्षहरूले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उपचाररत मेहताको मंगलबार बिहान मृत्यु भएको हो।

उनको निधनपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। उनीहरूले गृहमन्त्री सुधन गुरूङ स्वयं अस्पताल आउनुपर्ने,सरकारले आफ्ना माग तत्काल सम्बोधन गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। माग पूरा नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।

‘गृहमन्त्री राजीनामा दे’,’गृहमन्त्री मुर्दावाद’,’दोषीलाई कारवाही गर’,’हाम्रो माग पूरा गर,’लगायतका नारा लगाएर उनीहरू विरोधमा उत्रिएका हुन्।

मेहताको मृत्युसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि उक्त घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। उपचाररत मेहताको पनि निधन भएपछि कप्तानगन्ज फेरि शोकमा डुबेको छ।


Published :साउन १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media