असोज १५ बाट प्याराग्लाइडिङ सञ्चालनमा आउने

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द भएको प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा आउने भएको छ ।

सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालका रूपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रूपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरूलाई पुनः बुकिङ सुरु गर्न प्याराग्लाइडिङ कम्पनीहरूले निर्देशन दिएका छन् । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरूले करिब ५० करोडबराबरकाे नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए ।

अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन् । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अफ इरोनेटिक इन्टरनेसनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो ।

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङमा अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media