थप नाै कम्पनीका स्यानिटाइजरमाथि प्रतिबन्ध

राष्ट्रपाटी न्युज

१२ आश्विन २०७७

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजारमा बिक्री–वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री–वितरणमा रोक लगाएको हो ।

भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्यान्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एन्ड प्याकेजिङ इन्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्यान्ड स्यानिटाइजर र क्लिन ह्यान्ड स्यानिटाइजर, कुमकुम हर्बल इन्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडाैंको साधना इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर र कालिका सोप एन्ड केमिकल इन्डस्ट्रिजका ड्रोन ह्यान्ड स्यानिटाइजर (पहेंँलो रङको) र रङविनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतिबन्ध गरिएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री–वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । यसअघि विभागले गुणस्तरहीन भएको भन्दै भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका नौवटा स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।


Published :१२ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media