काठमाडौं महानगरपालिकाको अनुदानमा पशुपतिमा तीनवटा शवदाह यन्त्र निर्माण हुने

राष्ट्रपाटी न्युज

२६ आश्विन २०७७

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप तीववटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर– १४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘काठमाडौं महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवर्द्धन सँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रममा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिटै काठमाडौं महानगरपालिकाको करिब १५ करोेडको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप तीनवटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ ।’

प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए ।

‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’ शाक्यले भने, ‘अब सम्झौताको चरणमा पुगेका छौँ । काठमाडौं महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममा समेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ । त्यसैअनुरूप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागेका हौँ ।’
शाक्यले पशुपति क्षेत्रमा थप तीनवटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए ।


Published :२६ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media