कोरोना छल्दै त्रिशूलीमा जलयात्रा सुरु

राष्ट्रपाटी न्युज

२६ आश्विन २०७७

कोरोना संक्रमण पछि मुलुकमा लागेको लकडाउन सँगै बन्द भएको त्रिशुली नदीको जलयात्रा सुरु भएको छ । कोरोना कहरले बन्द भएका जलयात्रा गराउने रिसोर्टहरु धमाधम खुल्ला हुन थालेका छन् । त्रिशूली नदीमा जलविहार गराउने कम्पनी तथा रिसोर्टहरुले विभिन्न प्याकेज सार्वजनिक गर्दै जलविहार आरम्भ गरेका हुन ।
त्रिशूलीको जलयात्रा विश्वको दशौं गन्तव्यमा पर्दछ । राजधानी नजिकैको पृथ्वीराजमार्ग छेउमै रहेकोले यातायात, जलयात्रा, सुरक्षा र अन्य सुविधाका लागि त्रिशुलीमा रोमान्चक जलयात्रा संसार भर प्रसिद्ध छ । नेपालको पर्यटन क्षेत्रको विकासमा त्रिशूलीको जलयात्राको विशिष्ट योगदान छ । मझिमटार स्थित जलयात्रा व्यवसायी समेत रहेका वडा अध्यक्ष शुरेश मल्लका अनुसार वार्षिक करीब एक लाख जनाले त्रिशुलीमा रोमान्चित र साहसिक जलयात्रा गर्छन् त्यसमा पनि जलयात्रा गर्नेमा ८५ प्रतिशत नेपाली नै छन् ।
त्रिशुलीनदीको जलयात्रालाई निर्धारित स्वास्थ्य मापदण्ड अपनाएर छ महिना पछि सुचारु गरेको कोर एडभेन्चर नेपालको चरौंदी स्थित शाखाप्रवन्धक भिष्मराज थपलियाले बताउनुभयो ।
गत सातादेखि आन्तरिक युवापर्यटकहरु त्रिशुलीमा ल्याएर जलयात्रा गराउन आरम्भ गरिसकेको थपलियाले बताउनु भयो । पृथ्वीराजमार्ग वरपर नदी किनारमा मात्रै आधा दर्जन जलविहार गराउने कम्पनीहरु छन् भने अरु काठमाडौंबाटै पर्यटकहरु लिएर आउने गरेका छन् ।
त्रिशूलीमा जलयात्राको थालनी भएको विसं २०४२ सालबाट हो । देशभरका ६८ जिल्लाका सवारी साधनहरु राजधानी भित्रिने पृथ्वीराजमार्गको धादिंङ खण्ड यसै पनि व्यस्त राजमार्ग हो । यस अघि सन १९७१ मै अमेरिकी सेनाले त्रिशूलीमा जलयात्राको सम्भावना अध्ययन गरे पछि मात्रै नेपाल सरकारले जलयात्राको स्वीकृति दिएको जलयात्रा विकासमा अग्रणी भूमिका निर्वाह गर्ने रोयल वीचक्याम्पका विष्णु सिलवाल वताउनुहुन्छ ।
पृथ्वीराजमार्ग वरपर मुग्लिनदेखि नौविसेसम्म साना ठूला करिव १८ सय होटलहरु छन् । एक दर्जन रिसोर्ट, स्वीमिङ्गपुल हरु, होम स्टे संगै त्रिशूली किनारमा एक दर्जन व्यवसायीहरु जलयात्रा गराउने पेशामा व्यवसायिक रुपले क्रियाशील छन् ।
विभिन्न उद्योग, कम्पनीसमेत गरि आधिकारिक स्वीकृति लिएका ५३ वटा कम्पनी नेपालमा जलयात्रा गराई रहेपनि दर्ता नै नभएका ५० भन्दा वढी कम्पनीहरु छन् । त्रिशूली किनारमा मात्रै रोयल वीचक्याम्प, रिभर फनवीचक्याम्प, गोर्खा वीचक्याम्प, त्रिशुली रिभर साईड वीचक्याम्प, त्रिशूलीवीचक्याम्प, हिमालयन ईन काउन्टर, ह्वाईट वाटर नेपाल, लगायत एक दर्जन जलयात्रा व्यवसायी कम्पनीह छन् ।
कोरोना संकमण पछि अस्तव्यस्त रहेका व्यवसाय माथि उठ्न अझै समय लाग्ने व्यवसायीहरुको बुझाइ छ । नदीलाई स्वच्छ राख्न सकियो भने जलविहारका लागि सम्भावना भने अझै रहेको व्यवसायी रामकृष्ण सिलवाल बताउनु हुन्छ ।


Published :२६ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media